`

लुम्बिनीका तीन स्थानमा प्रधानमन्त्री कप क्रिकेट सुरु

Nepal One HD २५ फागुन २०८१ १२:४४
खेलकुद

लुम्बिनी । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमासुरु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार बिहान प्रतियोगिताको उद्घाटन गरेका छन् । रुपन्देहीका दुई र दाङको एक गरी तीनवटा क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो ।

भैरहवाको सिद्धार्थ रंगशालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले क्रिकेट बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए ।

त्यस्तै तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पछिल्लो समय खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताए ।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि यसपटक लुम्बिनी प्रदेशलाई प्राथमिकता दिएकोप्रति नेपाल क्रिकेट सङ्घलाई उनले धन्यवादसमेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गराउनकै लागि काठमाडौँ बाहिर खेलको आयोजना गरेको बताए । आइतबारदेखि सुरु भएको प्रतियोगितमा सात प्रदेश तथा तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ ।


प्रतिक्रिया