`

आइजिपी कप क्रिकेटको उपाधि मधेस प्रदेशलाई

Nepal One HD २ चैत २०८१ १८:११
खेलकुद

काठमाडौं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ ।

नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने सङ्गठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए ।

उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु सङ्गठनका निम्ति गौरवको विषय भएको बताए ।

गत फागुन २७ गतेदेखि भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए ।


प्रतिक्रिया