‘डिजिटल मिडिया अलायन्स’को टोलीद्वारा प्रचण्डसँग भेट


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरुको नवगठित ‘डिजिटल मिडिया अलायन्स’को टोलीले भेट गरेको छ ।
शनिबार खुमलटारस्थित प्रचण्ड निवासमा टोलीले प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटमा अध्यक्ष प्रचण्डले डिजिटल मिडियाहरू संस्थागत भएकोमा खुसी प्रकट गर्दै अहिलेको डिजिटल युग भएकोले डिम्यानले दूरदराजका शोषित पीडित जनताहरूको आवाज बोल्ने विश्वास व्यक्त गरे ।
प्रचण्डले भने, ‘समाजमा बढ्दो नकारात्मकता र निराशालाई आशामा बदल्न पनि तपाईंहरूको संस्थाले सकारात्मक भूमिका खेल्नेछ । गणतन्त्रलाइ सस्थागत गर्न तपाईहरुको डिम्यानले अझै थप सकरात्मक भूमिका खेल्ने छ । तपाईंहरुजस्तो युवालाई मेरो पूर्णसाथ रहने छ।’
त्यसक्रममा संस्थाका अध्यक्ष मोहराज पौडेल र महासचिव युवराज कँडेलले डिजिटल मिडिया र सस्थाको भूमिकाकोबारेमा जानकारी गराएका थिए । भेटमा संस्थाका सल्लाहकार विजन दुवाडी, उपाध्यक्ष मोनिका सिंह, उपाध्यक्ष महेश पौडेल, सचिव अर्जुन विष्ट, कोषाध्यक्ष कमल सरगम, सदस्य गोपीकृष्ण चापागाई र नरेन्द्र महरा सहभागी थिए ।

