`

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

Nepal One HD २६ चैत २०८१ १८:३९
प्रमुख खबर

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी पृथ्वी सुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव (प्रा.) राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने, गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहन कुमार तामाङलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ भने वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।


प्रतिक्रिया