`

धार्मिक पर्यटकका लागि भक्तपुरको कमलसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह

Nepal One HD २ वैशाख २०८२ २०:४७
राजनीति

काठमाडौँ, २ वैशाखः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कमलसीमा धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको छ ।

आज चाँगुनारायण नगरपालिकाको कमलसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा उहाँले कमलसीमा क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले हाल नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको र महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

करिब सात वर्षअगाडि आफूले शिलान्यास गरेको स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उहाँले लक्ष्यअनुसार काम सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     उपप्रधानमन्त्री सिंहले यहाँ बन्ने शिवजीको प्रतिमाले काठमाडौँ आउने पर्यटकलाई समेत आकर्षित गर्ने धारणा राख्नुभयो । 

एक सय आठ फिट अग्लो शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ यहाँ शिवपुराण महायज्ञ सुरु भएको छ । महायज्ञ १३ दिनसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया