`

त्रिभुवन आर्मी मनमोहन स्मृति क्रिकेटको फाइनलमा

Nepal One HD १५ वैशाख २०८२ २२:४५
खेलकुद

मोरङ । विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ ।

विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको समुह ए अन्तरगत अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई पाँच विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति वर्षा भएपछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले २४ दशमलव तीन बलमा सबै विकेट गुमाई ९६ रन बनाएको थियो ।

वागमतीका लागि कप्तान सिचिन लेखकले २४, प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाएका थिए । ९७ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले १७ दशमलव तीन बलमा पाँच विकेट गुमाई विजयी भएको छ । आर्मीका निश्चल क्षेत्रीले ४६ रन, हिमांशु दत्तले १८ रन बनाएका थिए ।

मङ्गलबार समूह बीको पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लवबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।


प्रतिक्रिया