युक्रेन–रुस शान्तिवार्तामा प्रगति हुन ट्रम्प-पुटिन भेट हुनुपर्छः विदेशमन्त्री रुबियो


बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको भन्दै उक्त मुद्दामा प्रगति हुनका निम्ति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनु आवश्यक भएको बताएका छन् ।
‘राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच यो विषयमा प्रत्यक्ष अन्तरक्रिया नभईकन यहाँ कुनै निर्णायक उपलब्धि हुन्छ जस्तो मलाई लाग्दैन,’ दक्षिणी टर्कीमा नेटोका विदेशमन्त्रीहरूबीच भएको बैठकपश्चात् विदेशमन्त्री मार्को रुबियोले भने ।
इस्तानबुलमा हुन लागेको रुस–युक्रेन वार्तामा आफ्नो देशले प्रतिनिधिमण्डल पठाउन लागेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टी गरे ।
तर उनले मस्कोले ’तल्लो स्तर’को प्रतिनिधिमण्डल पठाउन लागेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । रुसी प्रतिनिधिमण्डललाई राष्ट्रपति पुटिनका सल्लाहकार भ्लादिमिर मेदिन्स्कीले अगुवाइ गर्दैछन् ।
उनले क्रेम्लीनको वार्ता टोलीसँग ‘सबै आवश्यक योग्यता भएको’ बताए । यसअघि मध्यपूर्वको भ्रमणमा रहेका ट्रम्पले आफू र पुटिनबीच प्रत्यक्ष भेटघाट नभईकन शान्तिवार्तामा उल्लेखनीय प्रगति हुन नसक्ने टिप्पणी गरेका थिए ।
एयर फोर्स वनमा बीबीसीले उनलाई रुसी प्रतिनिधिमण्डलको स्वरूप देखेर निराशा उब्जिएको छ कि भनेर सोधेको थियो। ट्रम्पले जवाफ दिँदै भने, ‘हेर्नुहोस्, म र पुटिन सँगै नभईकन केही पनि हुनेवाला छैन।’
ट्रम्पले उचित भए शुक्रवार टर्कीमा हुने वार्तामा आफू सहभागी हुने बताए तर फेरि आफू वाशिङ्टन नै फर्कने बताए । बिहीबार टर्कीको इस्तानबुलमा टर्की, अमेरिका, युक्रेन र रुसका टोलीहरू भेट्दै छन्। सन् २०२२मा भएको प्रत्यक्ष वार्तापछि युक्रेन–रुसबीच हुन लागेको यो पहिलो भेट हो ।