समाचार

यू–१६ क्रिकेटः सुदूरपश्चिम छनोटको तालिका सार्वजनिक

NepalOne
३ जेठ २०८२ १३:४९

 

बैतडी । एसिसी मेन्स यू–१६ इस्ट जोन कप, २०२५ को  सुदूरपपिश्चम छनोट बैतडीमा हुने भएको छ । प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घ र बैतडी जिल्ला क्रिकेट सङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिताको खेलतालिकासमेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा अबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला छन् ।

यही जेठ ८ गते हुने पहिलो तथा उद्घाटन खेल बैतडी र बझाङबीच हुनेछ । सोही दिन हुने अर्को खेल डडेल्धुरा र डोटीबीच प्रतिस्प्रर्धा हुनेछ ।

जेठ ९ गते बैतडी र डडेल्धुरा र बझाङ र डोटीबीच हुनेछ भने जेठ १० गते डडेल्धुरा र बझाङ तथा बैतडी र डोटीबीच हुनेछ । जेठ ११ गते अछाम र कैलाली तथा कञ्चनपुर र दार्चुलाबीच हुने जनाइएको छ । साथै जेठ १२ गते अछाम र कञ्चनपुर तथा कैलाली र दार्चुला खेल्नेछन् ।

जेठ १३ गते कैलाली र कञ्चनपुर तथा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ । जेठ १४ गते समूह ‘ए’ विजेता र ‘बी’को विजेता उपाधिका लागि खेल्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिनेछ ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले  एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।


प्रतिक्रिया