समाचार

माओवादीसँग गठबन्धन गर्ने सभावना छैनः कांग्रेस

NepalOne
३ जेठ २०८२ १९:२८

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको बताएका हुन् ।

बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको जानकारी दिए ।

पार्टी सभापति देउवासँग माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माको भेटबारे बैठकमा सांसदहरुले जिज्ञासा राखेका थिए ।  बैठकमा देउवाले भेटघाटलाई सामान्य रुपमा लिन आग्रह गरेका थिए ।

बैठकमा सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

कांग्रेस सांसदहरूले गभर्नर लगायतका विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए । बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए।

बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रूपमा सन्तुलित वितरण लगायतका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक घिमिरेले जानकारी दिए।

संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेको उनले बताए । उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख गरे।


प्रतिक्रिया