परराष्ट्रमन्त्री राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता


काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच भेटवार्ता भएको छ ।
बिहीबार उनीहरुबीच टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेका थिइन् ।
त्यस्तै उनीहरुका बीचमा नेपाल जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरुमा पनि कुराकानी भएको थियो। नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। दुवै देशले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सव मनाउँदै छन् ।
मन्त्री राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रकारुपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरेकी थिइन् ।
त्यसैगरी उनले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताइन् ।