अरब सागरमा लाइबेरियाको मालबाहक पानीजहाज डुब्यो


बीबीसी । भारतको दक्षिणी राज्य केरलाको सरकारले अरब सागरमा लाइबेरियाको एक मालबाहक पानीजहाज डुबेको र त्यसबाट तेल पोखिएपछि तटीय क्षेत्रहरूमा सावधान हुन सूचना जारी गरेको छ । दक्षिण–पश्चिम मनसुनको तेज रफ्तारका कारण उक्त क्षेत्रमा कति नोक्सानी भएको छ भनेर तत्कालै थाहा हुन कठिन भएको छ ।
लाइबेरियाको झण्डाबाहक उक्त पानीजहाजमा ६४३ वटा कन्टेनर रहेका बताइएको छ । तीमध्ये ७३ खाली थिए भने १३ कन्टेनरमा क्याल्सियम कार्बाइड नामक रसायन थिए जसबाट एसिटिलीन ग्यास निस्कन्छ । त्यसका अतिरिक्त जहाजमा ८४.४४ मेट्रिक टन डिजल अनि ३६७.१ मेट्रिक टक फर्नेस अइल पनि थियो ।
ती सामग्री पोखिएपछि उत्पन्न हुने खतराका माझ केरलाको सरकारले अलाप्पुझा, कोल्लम, एर्नाकुलम तथा तिरुवनन्तपुरमसहित राज्यका तटीय जिल्लाहरू सतर्कता बढाएको छ । ती जिल्लाहरूमा गएराति तथा आज बिहान करिब ९ कन्टेनर बगेर किनारमा आइपुगेका छन् ।
सरकारले खासगरि माछा मार्ने व्यवसायमा सामेल स्थानीय समुदायलाई जहाज डुबेको ठाउँभन्दा २० नटिकल माइल वरपर माछा नमार्न भनेको छ । मुख्यमन्त्री पिनरायी विजयनको अध्यक्षतामा बसेको आपत्कालीन बैठकपश्चात् उक्त निर्णय लिइएको थियो ।
बगेर आएका कन्टेनरका नजिक नजान र तिनलाई नछुन भनिएको छ । यसअघि सोमबार भारतीय तटरक्षक बल (आईसीजी)ले २४ सदस्य रहेका उक्त जहाजमा फसेका ३ जनालाई पनि उद्धार गरेको थियो । शनिबार उक्त जहाज एकापट्टि ढल्किएको र डुब्न लागेको देखिएपछि उद्धारकार्य सुरु भएको थियो ।
फैलँदो प्रदूषण नियन्त्रण गर्न मुम्बईबाट एउटा विशेष जहाज त्यसतर्फ पठाइएको बताइएको छ । डुब्नुअघि एकापट्टि ढल्कँदा उक्त जहाजबाट करिब १०० कन्टेनर पानीमा खसेको र मनसुनका कारण ती बग्दै तटतर्फ आउन सक्ने बताइएको छ । त्यसमा भएको तेल समुद्रको पिँधमा जान सक्ने भएकाले त्यससँग जुझ्न विभिन्न निकाय मिलेर विस्तृत कार्ययोजना बनाउन पनि निर्देश गरिएको छ ।