काँकरभिट्टाबाट पाँच लाख ३० हजारका नक्कली नोटसहित एक जना पक्राउ

NepalOne २३ जेठ २०८२ १८:४४
समाचार

भद्रपुर (झापा), २३ जेठः यहाँस्थित मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका-५ घर भई हाल झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उहाँले जानकारी दिनुभयो ।

भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई चलनमा ल्याएको खुलेको प्रनाउ खड्काले जानकारी दिनुभयो । प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला पारेको उहाँको भनाइ छ ।

प्रहरीका अनुसार विभिन्न दरका रु पाँच लाख ३० हजार ६८० बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री बरामद गरिएको छ । पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया