`

इजरायली आक्रमणबाट बच्न इरानका सर्वोच्च नेता नै भूमिगत बङ्करभित्र

Nepal One HD २ असार २०८२ १०:५३
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्या गर्ने इजरायली योजना रोकिदिएका छन् ।

लगातार चौथो रात पनि दुई देशबीच घातक आक्रमण र प्रत्याक्रमण जारी छ । शुक्रबारयता इरानमा कम्तीमा २२४ जनाको ज्यान गएका विवरण आएका छन्। इजरायलमा कम्तीमा १२ जनाको ज्यान गएको छ ।

इरानका सर्वोच्च नेतालाई मारिदिने इजरायलको योजनालाई ट्रम्पले व्यक्तिगत रूपमा हस्तक्षेप गरेर रोकिदिएको र अहिलेको द्वन्द्वको अवस्थामा त्यस्तो योजना ‘राम्रो उपाय’ नभएको उनले बताएका छन् ।

एकजना वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै रोएटर्स समाचार संस्थाले इरानीहरूले कोही अमेरिकी नमारेको हुनाले तेहरानको राजनीतिक नेतृत्व विरुद्धका हमलालाई वाशिङ्टनले समर्थन नगर्ने बताए । ह्वाइट हाउसले इजरायलले उसको ध्यान इरानको परमाणु क्षमता ध्वस्त पार्नेतर्फ केन्द्रित गर्न सुझाएको विश्वास गरिन्छ ।

यी विवरणबारे ट्रम्पले कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्। एक अमेरिकी टेलिभिजनसँगको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले पनि यसबारे सोधिएका प्रश्नको जवाफ दिनबाट तर्किएका छन् ।

शुक्रबारकै इजरायली हमलामा इस्लामिक रिभोलुशनरी गार्डस्का कमान्डर इन चीफ होसेन सलामी, इरानको सशस्त्र सेनाको चीफ अफ स्टाफ मोहम्मद बघेरी तथा कैयन् वरिष्ठ परमाणु वैज्ञानिकहरू मारिएका थिए।


प्रतिक्रिया