जी सेभेन बैठक छाडेर स्वदेश फर्किँदै ट्रम्प


बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ । ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उनी फर्कनेछन् ।
मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उनी फर्कन लागेको बताइएको छ । यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गरेका थिए । अमेरिकाले आफ्ना थप सैन्य स्रोतहरू उक्त क्षेत्रमा परिचालन गर्न लागेको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा अमेरिकी रक्षास्थिति सुदृढ पार्न चाहेको बताए । जी सेभेन देशका नेताहरूले विश्व व्यापार अनि युक्रेनविरुद्ध रुसी आक्रमणजस्ता विषयमा राष्ट्रपति ट्रम्पको पूर्ण ध्यान तानेर कुराकानी गर्न चाहिरहेका थिए ।
तर राष्ट्रपति ट्रम्प पूर्व निर्धारितभन्दा एक दिन अगावै वाशिङ्टन फर्कने भएका छन् । ह्वाइट हाउसले क्यानडा भ्रमणमा ट्रम्पले अपेक्षित सफलता प्राप्त गरिसकेको बताएको छ – जसमध्ये बेलायतका प्रधानमन्त्री केअर स्टार्मरसँग ट्यारिफ सम्झौतामा हस्ताक्षरसहित ।
ट्रम्प फर्किए पनि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई शिखर सम्मेलनका बाँकी बैठक आयोजना गर्नु पर्ने छ । जी सेभेन समूहमा अमेरिका, बेलायत क्यानडा, इटली, फ्रान्स, जर्मनी, र जापान छन्। साथै भारत, अस्ट्रेलिया र ब्रजिलका नेताहरूलाई पनि आगन्तुकका रूपमा निम्त्याइएको छ ।
जी सेभेनको बैठकलाई बीचमै छाडेर ट्रम्प फर्किएको यो पहिलोपटक भने होइन । सन् २०१८ मा क्यानडामा नै भएको शिखर बैठकलाई पनि ट्रम्पले बीचमै छाडेर उत्तर कोरियाली नेता किम जङ् अनसँग भेट्न गएका थिए।