`

पार्टी पुनर्गठनका लागि अर्लि महाधिवेशनमा जानुपर्छः रामकुमारी झाँक्री

Nepal One HD १५ असार २०८२ १२:३४
प्रमुख खबर

बुटवल । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पुनर्गठन गर्न माग गरेकी छन् । पार्टीको युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै नेतृ झाँक्रीले पार्टी पुनर्गठनका लागि अर्लि महाधिवेशनमा जानुपर्ने बताएकी हुन् ।

उनले पार्टी अध्यक्षकै बारेमा संकट आएको भन्दै पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुपर्ने बताइन् । उनले संकट आयो भन्दैमा भाग्न नहुने बताइन् ।

झाँक्रीले पार्टी अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ बताइन् । उनले पार्टी पुनर्गठन गरेर नगए पार्टी विघटन हुने बताइन् ।

उनले भनिन्, ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने ? कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

पार्टी अध्यक्ष नेपालमाथि पतञ्जलीको जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा हालेको छ । उक्त मुद्दामा अध्यक्ष नेपाल ३५ लाख धरौटीमा रिहा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *