विद्यालय शिक्षा विधेयकमा षड्यन्त्र भए आन्दोलनमा जान बाध्य हुने महासंघको चेतावनी


काठमाडौँ । नेपाल शिक्षक महासङ्घले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक संसदमा पेस नगरेकोप्रति आपत्ति जनाएको छ।
महासङ्घले सोमबार विज्ञप्ति जारी गरी विगतका सहमतिहरूलाई सम्बोधन गर्दै विद्यालय, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने माग राख्दै विगतमा ८९ दिनसम्म सशक्त आन्दोलनसमेत गरेकोमा अहिले त्यसलाई वेवास्ता गरिएको भन्दै आपत्ति जनाएको हो ।
त्यही आन्दोलनको क्रममा गत वैशाख १७ गते राज्य पक्ष र महासङ्घबीच विद्यालय शिक्षा विधेयक असार १५ भित्रै प्रतिनिधि सभामा पेस गर्ने सम्झौता भएको थियो। तर, उक्त डेडलाइनभित्र विधेयक संसदमा पेस नभएपछि महासङ्घले आपत्ति जनाएको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको छलफल छिटो सम्पन्न गरी विधेयक प्रतिनिधि सभामा पेस गरी पारित गर्न माग गरिएको छ ।
विज्ञप्तिमा विलम्ब र षड्यन्त्र भएमा महासङ्घ पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ।