`

सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भयोः प्रचण्ड

Nepal One HD १७ असार २०८२ १६:३२
प्रमुख खबर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

वाइसिएलको केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,’ उनले भने ‘यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।’

अध्यक्ष दाहालले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए ।

‘यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्यौँ । अहिले पनि त्यो प्रवृत्ति जारी छ,’ उनले भने ।

अध्यक्ष दाहालले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे । पार्टीको आठौँ महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले वर्तमान अवस्थामा वर्गसङ्घर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *