आगामी वर्ष दुई सय वटा झोलुङ्गे पुल बनाउने सहरी विकास मन्त्रालयको लक्ष्य


काठमाडौँ-सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा दुई सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्ष २०८२/८३ मा एक सय वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण र ३० वटा सडक पुल मर्मत गर्ने लक्ष्य लिइएको जनाएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीले तीन तहका सरकारको समन्वय र सहकार्यबाट लक्षित झोलुङ्गे पुल निर्माण गरिने उल्लेख गर्नुभयो । उहाँका अनुसार, आगामी आव २४९ वटा सिँचाइ आयोजना सम्पन्न भएर तीन हजार ७०० हेक्टर जमिन सिञ्चित हुनेछ ।
यस्तै, १०० किलोमिटर सडक निर्माण हुने र ३०० किलोमिटर सडक कालोपत्र गरिनुका साथै ६० वटा स्थानीय प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य लिइएको छ ।
मन्त्रालयले उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने लक्ष्य लिएको छ ।
उपत्यकाका चार स्थान (जितपुर फेदी, डुकुछाप, इशान नयाँ सहर, ताथवी चलावुमा) जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भई जग्गा विकास कार्य सुरु गर्ने, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ । उपत्यकाको व्यवस्थित सहरीकरणका लागि हरियाली प्रवद्र्धन, सचेतना, आकासे पानी सङ्कलन, वन तथा पोखरी संरक्षण गर्ने योजना समेटिएको छ ।
सरकारले कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डको स्टेडियमको दोस्रो चरणको निर्माण कार्य पनि छिट्टै सुरू भएको छ ।
अतिविशिष्ट पदाधिकारीको आवास निर्माण कार्यअन्तर्गत सभामुख आवास निर्माण र प्रधानन्यायाधीश आवास निर्माण कार्य सुरू गर्ने योजना बनाइएको छ । भृकुटीमण्डपमा अन्तरराष्ट्रियस्तरको प्रदर्शनीस्थल तथा मनोरञ्जन पार्क निर्माण कार्य अघि बढाउने सरकारको लक्ष्य छ ।
त्यस्तै, वाग्मती नदीमा सौन्दर्यकरणलाई निरन्तरता दिने, वाग्मती करिडोरको बल्खुदेखि गोकर्ण क्षेत्रसम्म सिसी क्यामेरा र स्ट्रिटलाइट जडान गरिने कार्ययोजना रहेको छ ।
यसैबीच, सहरी विकास मन्त्रालयले चोभारको गल्छी कटान गर्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपनिर्देशक उद्धव नेपालले गल्छी कटानबारे अनर्गल प्रचार भएको बताउनुभयो ।
सरकारले सिंहदरबारमा निर्माणधीन सङ्घीय संसद् भवनको चाँडो निर्माण सक्नेगरी पूर्ण क्षमतामा काम अगाडि बढाएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले आगामी हिउँदे अधिवेशन सिंहदरबारबाटै सञ्चालन गर्नेगरी द्रुतगतिमा निर्माणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन संसद् भवनको अहिले धमाधम भित्री साजसज्जाको काम भइरहेको छ । चालु आर्थिक वर्षमा भित्री फिनिसिङ, रङरोगन, मेकानिकल काम सम्पन्न गरिनेछ । आगामी हिउँदे अधिवेशनमा बैठक सञ्चालन गर्न मिल्नेगरी काम गरिरहेका छौँ ।”