`

बर्खास्त गरेकै दिन रुसका पूर्वमन्त्री मृत फेला

Nepal One HD २४ असार २०८२ १०:५९
विश्व

बीबीसी । रूसका पूर्वयातायात मन्त्री रोमान स्तारोभोइत सोमबार मृत फेला परेका छन् । अधिकारीहरुले उनको मृत्यु गोली लागेर भएको हो वा आत्महत्या गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

स्तारोभोइतलाई सोमबार नै राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका थिए। उनलाई बर्खास्त गरिएको केही घण्टामै उपमन्त्री आन्द्रेइ निकितिनलाई नयाँ यातायात मन्त्रीको रूपमा नियुक्त गरिएको थियो।

बर्खास्तीको कुनै कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । रूसको अनुसन्धान समितिले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

२०२४ मेमा यातायात मन्त्री नियुक्त भएका स्तारोभोइत त्यसअघि करिब ६ वर्षसम्म कुस्र्क क्षेत्रका गभर्नर थिए । कुस्र्क क्षेत्रलाई २०२४ अगस्टमा युक्रेनी सेनाले आंशिक रूपमा नियन्त्रणमा लिएको थियो। मस्कोले हालै मात्र उक्त क्षेत्रबाट युक्रेनी फौजलाई हटाएको थियो।

तर, जून महिनाको अन्त्यसम्म पनि युक्रेनले रुसी भूभागको केही सानो क्षेत्र कब्जामा राखेको दाबी गरेको थियो । स्तारोभोइतको उत्तराधिकारी अलेक्सेइ स्मिरनोभ पनि विवादमा मुछिएका थिए।

उनलाई अप्रिलमा युक्रेनी सीमामा किल्ला निर्माणका लागि छुट्याइएको रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको थियो । रुसी सञ्चारमाध्यम कोमेरसान्तका अनुसार स्तारोभोइतलाई पनि सोही भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाउने तयारी हुँदै थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *