इन्जिनका इन्धन स्विच ‘कट–अफ’ हुँदा इयर इन्डियाको विमान दुर्घटना


बीबीसी, हिन्दी । गत महिना भएको एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले इन्धन आपूर्तिसँग सम्बन्धित गम्भीर त्रुटिले दुर्घटना निम्त्याएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार, विमानले ‘टेक अफ’ गरेलगत्तै दुबै इन्जिनका इन्धन स्विचहरू ‘कट–अफ’ स्थितिमा गएका थिए । ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्का पाइलटसँग सोधेको सुनिन्छ, ‘तिमीले कट–अफ किन गर्यौ ?’, जवाफमा दोस्रो पाइलटले भने, ‘मैले गरेकै हैन ।’ आवाज कसको हो भन्ने भने प्रतिवेदनमा स्पष्ट छैन ।
उडानको क्रममा विमान को–पाइलटले उडाइरहेका थिए भने कप्तानले निगरानी गरिरहेका थिए । टेक अफको केही सेकेन्डपछि विमानले अधिकतम १८० नट्सको गति हासिल गरेको थियो । तर त्यसको तुरुन्तैपछि इन्जिन १ र २ दुबैका फ्युल स्विच क्रमशः रनबाट कट–अफमा सरेका थिए ।
दुर्घटनामा विमानभित्र र भुइँमा रहेका गरी २६० जनाको मृत्यु भएको थियो । दुर्घटनमा एक यात्रु बेलायती नागरिक विश्वास कुमार रमेश भने बच्न सफल भएका थिए ।
प्रारम्भिक प्रतिवेदनले देखाउँछ कि टेक अफको केही सेकेन्डमै विमानले उचाइ गुमाउन थालेको थियो । सिसिटिभी फुटेज अनुसार, रनवेको बाउन्ड्री पार गर्नुअघि नै विमान तल झर्न थालेको देखिएको थियो । आपतकालीन अवस्थामा प्रयोग हुने ‘र्याम एयर टर्बाइन’ स्वचालित रूपमा सक्रिय भएको पुष्टि गरिएको छ।
दुर्घटनापछि पाइलटहरूले इन्जिन पुनः सक्रिय गर्ने प्रयास गरेका थिए । झण्डै ९ सेकेन्डपछि एक पाइलटले ‘मे डे, मे डे, मे डे’ भन्दै एयर ट्राफिक कन्ट्रोललाई सन्देश पठाए पनि जवाफ प्राप्त नभएको उल्लेख छ ।
दुवै पाइलट र फ्लाइट क्रूको ब्रीथ एनालाइजर परीक्षण गरिएको थियो र सबै ‘उडानको लागि योग्य’ पाइएका थिए । इन्धनको नमुना परीक्षण ‘सन्तोषजनक’ रहेको प्रतिवेदनले जनाएको छ । यद्यपि, केही नमूनाहरु अत्यन्त कम परिमाणमा भएकाले विशेष प्रयोगशालामा पठाइएको बताइएको छ ।