`

घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तासँग सोधपुछ गर्दै अख्तियार

Nepal One HD ५ साउन २०८२ १४:००
राजनीति

काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ थालेको छ ।

अनुसन्धान अधिकृतको टोलीले घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।

७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भएर भ्वाइस टेस्ट गर्न आउने बताएका छन् ।

गुप्ता एमाले केन्द्रीय सदस्यसमेत हुन् र उनी जारी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि ७८ लाख घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले पद गुमाएका थिए ।

तर गुप्ताले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन्। अडियो पनि आफ्नो नभएको जिकिर उनले गरिरहँदा अख्तियारले झिकाएको हो । उनले घुस बार्गेनिङ गरेपछि पैसाको झोला नै सरकारी निवासमा छाडेर गएको स्वीकारेका थिए । यसबारे उजुरी परेपछि अख्तियारले छानविन अघि बढाएको हो ।

पूर्वमन्त्री गुप्ताले घुस डिल गरेकोबारे अडियोसहित उजुरी परेकाले भ्वाइस टेस्ट गरेर अनुसन्धान अघि बढाउने तयारी अख्तियारले गरेको छ । अख्तियारको प्रारम्भिक  अनुसन्धान अडियो गुप्ताकै भएको खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *