एसिडिटी (पेट अथवा छाती पोल्नु) भनेको के हो?


एसिडिटी वा पेट अथवा छाती पोल्नु अथवा डुम्म भएको महसुस हुनु सामान्य समस्या हो, जसले मुख्यतया छाती वा पेट पोल्ने गर्दछ, असहज बनाउँछ। प्रायः यो असहजता छातीको तल्लो भाग पेट वरिपरि महसुस हुन्छ। यो सामान्यत पेटका अम्लीय पदार्थहरू खानेनली (ग्रासनली वा इसोफेगस) मा पुगेपछि एसिडिटी अनुभव हुन सुरु हुन्छ।
पेटमा “हाइड्रोक्लोरिक एसिड” नामक अम्ल हुन्छ। यो अम्लले खाना टुक्र्याउँछ र ब्याक्टेरिया जस्ता रोगजनकहरूबाट जोगाउँछ। पेटको भित्री पत्र यो शक्तिशाली अम्ललाई सहनसक्ने गरी बनेको हुन्छ, तर इसोफेगसको पत्र यस अम्लका लागि अनुकूलित हुँदैन, त्यसैले त्यहाँ पोलेको महसुस हुन्छ।
एसिडिटी किन हुन्छ?
जब तपाईं खाना निल्नुहुन्छ, तपाइँको इसोफेगसको (तल्लो इसोफेजियल स्फिंक्टर) तलको मांसपेशी केही समय ढिलो हुन्छ जसले गर्दा खाना र तरल पदार्थ पेटमा जान सक्छ। खाना खाएपछि त्यो मांसपेशी फेरि कडा हुन्छ। जब पेटको एसिड फर्केर ग्रासनलीमा आउँछ त्यतिबेला एसिडिटी सुरु हुन्छ। एसिडिटी प्रायः खानपानसँग सम्बन्धित हुन्छ। गर्भावस्थामा भित्रि अंगमा दबाब बढ्दा वा कहिलेकाँही खानेकुरा धेरै खानेबित्तिकै पनि एसिडिटी हुन सक्छ। तेलमा धेरै तारेका खानाकुरा यसको अर्को मुख्य कारण हो। प्रायः तारेका खानेकुरा ढिलोगरी पच्ने र पेटमा लामो समय बस्ने हुँदा एसिड सामान्य अवस्थाभन्दा बढी उत्पादन हुन्छ।
एसिडिटीको (पेट पोल्ने) लक्षणहरू
एसिडिटी हुँदा छाती पोल्छ, यो भनेको ग्रासनलीमा जलन जस्तो महसुस हुनु हो। सुत्दा वा झुक्दा यो अझ बढ्न थाल्छ र खानापछि झनै बढ्नसक्छ। कहिलेकाहीँ छाती पोल्दा घाँटीसम्म पुग्छ र यस्तो बेला पेटको अम्ल घाँटी सम्म पुग्दा स्वाद बिग्रिन्छ र जलन झन बढ्नथाल्छ। यसबाहेक अत्यधिक डकार आउनु, मुखको स्वाद टर्र्रो हुनु, बान्ता वा वाकावाकी हुनु, पेट डुम्म भएर फुल्नु, लगातार सुख्खा खोकी आउनु, घ्यारघ्यार हुनु, घाँटीमा ख्याँक-ख्याक् वा आवाज भारी हुनु, लामो समयदेखि घाँटी दुख्नु, निल्न गाह्रो हुनु वा दुख्नु, छाती वा माथिल्लो पेटमा दुखाइ हुनु पनि एसिडिटीका लक्षण हुन्। पेटको एसिडले दाँतको तह बिगार्न सक्छ र दुर्गन्ध आउने सास, कालो दिसा वा रगत देखिनु, लगातार हिच्की आउनु र कुनै कारणबिनै तौल घट्नु पनि यसका संकेत हुन सक्छन्।
चिकित्सकलाई कहिले देखाउने?
विशेष गरी ठोस खाना वा कुनै औषधीजन्य ट्याबलेट निल्दा यदि एसिडिटी वा पेट पोल्ने अनुभव निरन्तर भइरहन्छ, निल्न गाह्रो हुन्छ वा दुखाइ महसुस हुन्छ भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ। यदि तौल अचम्मै तरिकाले छिटो घट्दै छ र कारण थाहा छैन भने पनि सतर्क हुनुपर्छ। लामो समय खोकी रहनु, घाँटीमा घुट्को अड्किएको महसुस हुनु, दुई हप्ताभन्दा बढी एण्टी-एसिड खाए पनि सुधार नआउनु, स्वर बस्नु, घ्यारघ्यार हुनु वा दमका रोगीहरु झन गम्भीर हुनुजस्ता लक्षण देखिएमा पनि चिकित्सकलाई देखाउनुपर्छ। छातीको दुखाइसँगै घाँटी, खुट्टा वा हात दुखाइ भएको छ भने ढिलाइ गर्नु हुँदैन। दुखाइसँगै सास फेर्न गाह्रो हुनु, कमजोरी, अनियमित नाडीको गति वा पसिना आउनु र पेटमा अत्यधिक दुखाइ हुनु पनि चिकित्सकलाई देखाउने अवस्था हो।
के हुन त एसिडिटीको जोखिम बढाउने मुख्य कारकहरू
मोटोपन, धूम्रपान र अप्रत्यक्ष धूम्रपान, नुन बढी खानु, फाइबरयुक्त खाना कम हुनु, व्यायामको कमी, दम, दुखाइ र एन्टिडिप्रेसन्टजस्ता केही औषधिको प्रयोग, मदिरा र क्याफिनयुक्त पेयपदार्थ सेवन, धेरै खाना, अझ बढी तारेका (डिप प्राई) गरेका खानेकुरा र सुत्नु अघि दर्ह्रो खाना खाने आनिबानिले एसिडिटीको जोखिम बढाउँछ।
एसिडिटीबाट बच्ने उपायहरू
अम्लीय नभएका फलफूल र तरकारी खानु, पटक पटक गरि धेरैपटक खाना खानु तर एकै पटक पेट नै अटस मटस हुने गरेर नखानु, सुत्नु अघि १-२ घण्टा अगाडि खाना खानु, तौल नियन्त्रणमा राख्नु, नियमित व्यायाम गर्नु, दिनमा ३ लिटरभन्दा बढी पानी पिउनु, खाना खानु अघि र पछि तुरुन्त पानी नपिउनु र टाइट बेल्ट वा कपडा नलगाउनु जस्ता उपायहरूले एसिडिटीबाट बच्न मद्दत गर्छ।
एसिडिटीको परीक्षण कसरी हुन्छ
जीवनशैली परिवर्तन र औषधि दिएपछि सुधार नभएमा विज्ञ चिकित्सकको नियमनमा परीक्षण आवश्यक हुन्छ। यसका लागि चिकित्सकहुले मुख्यतः एन्डोस्कोपी, बायोप्सीमार्फत टिस्यूको जाँच, बेरियम एक्स–रे, इसोफेजियल मेनोमेट्रीबाट दबाव मापन, इम्पिडेन्स मोनिटरिङमार्फत अम्लको गति र pH मोनिटरिङमार्फत अम्ल स्तर परीक्षण गर्ने जस्ता प्रक्रिया अपनाउछन्।
एसिडिटीको उपचार
उपचारको मुख्य उद्देश्य लक्षण घटाउने, जीवनस्तर सुधार्ने, इसोफेगस निको पार्ने र जटिलता रोक्ने हो। सामान्य एण्टी-एसिडले तुरुन्त राहत दिन्छ। अम्ल कम गर्ने औषधिहरू जस्तै प्रोटोन पम्प इनहिबिटर (PPI) र हिस्टामिन-२ रिसेप्टर एन्टागोनिस्ट प्रयोग गरिन्छ। प्रोकाइनेटिक एजेन्ट्सले पेट छिटो खाली गर्छन् र म्यूकोसल प्रोटेक्टिभले इसोफेगसमा सुरक्षा तह बनाउँछन्। यदि औषधिले काम नगरे वा लामो समयसम्म दवाइ प्रयोग गर्न नचाहेमा सर्जरी गर्न सकिन्छ जसले इसोफेगसको स्फिंक्टरलाई बलियो बनाउँछ।
जीवनशैली सुधारहरू
एसिडिटी कम गर्नका लागि खाना खाएपछि तुरुन्त नपल्टिनु, सुत्दा टाउको अलिकति माथि राख्नु, धेरै खाना एकैपटक नखानु, ढीला कपडा लगाउनु र पेपरमिन्ट नभएको चुइङ्गम चपाउनु उपयोगी हुन्छ।
एसिडिटी हुँदा हुने समस्या र सामान्य औषधि
एसिडिटी हुँदा पेट पोल्ने, दुखाइ, घाँटी वा छाती असहज हुने, अमिलो वा टर्र्रो स्वाद, सुजन, रगत भएको दिसा, लगातार हिच्की, तौल घट्नु, पुरानो घ्यार घ्यार र खोकी देखिन सक्छ। यसलाई नियन्त्रण गर्न एण्टासिड्स, H2 रिसेप्टर एन्टागोनिस्ट्स र प्रोटोन पम्प इनहिबिटर (ओमेप्राजोल, ल्यान्सोप्राजोल) प्रयोग गरिन्छ। यदि यी औषधिले पनि राहत नदिएमा चिकित्सकलाई देखाउनुपर्छ।
घरमै अपनाउन सकिने उपायहरूमा खुकुलो कपडा लगाउने, सिधा बस्ने, टाउको नरम तकिया माथि राखेर सुत्ने, बेकिङ सोडा पानीमा मिसाएर पिउने, थोरै अदुवा धेरै बेरसम्म चपाउने, एसिडलाई पातलो पार्नका लागि च्युइङ्गम चपाउने र कुनैपनि किसिमको धूम्रपानबाट टाढा रहनु पर्दछ। आपतकालीन अवस्थामा चिकित्सकलाई भेट्ने र चिकित्सकको सल्लाह पालन गर्नुपर्छ।