`

राष्ट्रिय कोदो दिवस मनाइँदै

Nepal One HD १६ साउन २०८२ १३:३६
समाचार

काठमाडौँ । कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज पहिलो राष्ट्रिय कोदो दिवस मनाइँदै छ ।

मन्त्रिपरिषद्को गत असार तेस्रो साताको बैठकले गरेको निर्णय अनुसार आज पहिलो राष्ट्रिय कोदो दिवस मनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो ।

सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले पनि कोदोजन्य बाली वर्षको रुपमा मनाएको थियो । कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेनागृहलेसमेत कोदोका परिकार नियमित बनाउने गरेको छ । केही वर्षअघि दुवै छाक भातका लागि मरिहत्ते गर्नेले आजको दिनमा स्वास्थ्यका लागि कोदोको खोले र रोटी खान थालेका छन् ।

कोदोका परिकार कहाँ पाइन्छ भनेर धेरैतिर मानिस भौँतारिएर हिँड्ने गरका छन् । अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिका कुपोषण जस्ता रोगसँग जुध्न बाध्य छन् । पोषणका लागि कोदोका अनाज नियमित खानुपर्ने चिकित्सकले सल्लाह दिन थालेका छन् । यस अवसरमा कोदो दिवस मूल समारोह समिति भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ ।

नेपाली कांग्रेसले पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा कोदो दिवससम्बन्धी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय किसान समूह महासङ्घ र एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्टस् (अनाज)ले पनि आज कार्यक्रम गर्न लागेको छ । कृषि विज्ञ डा कृष्णप्रसाद पौडेल भविष्यमा खाद्य सङ्कट हुने भन्दै समयमा नै कोदो संरक्षण गरेर राख्नुपर्ने बताउनुहुन्छ । कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात हुने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने उनले बताए । राम्रोसँग भण्डारण गरेमा कोदो सयौँ वर्ष सुरक्षित रहने भएकाले कोदो नै भविष्यमा खाद्य सङ्कट हटाउन सहयोगी हुने कृषि विज्ञ पौडेलको भनाइ छ ।

कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदा हुने बताइन्छ । नेपाल कुपोषणको दुष्च्रकमा फसेको र विद्यालय पढ्ने बालबालिका कुपोषणबाट पीडित भइरहेकाले यसबाट बच्न कोदोजन्य बालीको उत्पादन प्रवद्र्धन गर्नुपर्ने कृषि विज्ञहरुको भनाइ छ ।

कृषि मन्त्रालयले कोदो प्रवद्र्धनको मुख्य अधिकारीका रुपमा सहसचिव रामकृष्ण श्रेष्ठलाई तोकेको छ । पछिल्लो समयमा कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यावसायिकता र किसानलाई आकर्षण गर्न आवश्यक काम हुन सकेको छैन । सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन तथा आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु सात करोड १५ लाख बराबरको कोदो आयात भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७/७८ मा रु सात करोड २२ लाख, आव २०७९/८० मा रु ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०/८१ मा मात्र रु ७५ करोड ४४ लाख २२ हजार ६५९ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *