मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता


झापा, १६ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन र व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज रङ्गशालाको अवलोकन गर्दै उहाँले रङ्गशालाको निर्माण व्यवस्थित रूपमा भइरहेको उल्लेख गर्नुभयो ।
भद्रपुर क्रिक्रेट क्लबले मेची बहुमुखी क्याम्पसको जग्गा लिजमा लिएर रङ्गशाला निर्माण गरेको हो । रङ्गशालाको निर्माणमा कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय क्रिक्रेटप्रेमीको रु ६० लाखभन्दा बढी लगानी भइसकेको क्लबका अध्यक्ष आदित्य पराजुलीले अवलोकनका क्रममा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो ।
मुख्यमन्त्री कार्कीले मैदान र अन्य भौतिक संरचना सन्तोषजनक रूपमा निर्माण भइरहेको बताउनुभयो । उहाँले रङ्गशालालाई प्रदेशकै उत्कृष्ट क्रिक्रेट मैदानका रूपमा विकास गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर अघि बढ्न क्लबलाई सुझाव दिनुभयो । “डिपिआर बनाएर अघि बढ्नुहोस्, प्रदेश सरकारबाट के–कस्तो सहयोग चाहिएको हो, हामी सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय क्रिक्रेटमा महत्त्वपूर्ण योगदान पु¥याउने प्रतिभाशाली खेलाडीहरू झापाकै रहेका उल्लेख गर्दै भद्रपुर-८ का वडाध्यक्ष मनोज सुब्बाले झापाको गौरव बढाउने लक्ष्यसहित भद्रपुरमा अन्तरराष्ट्रियस्तरको क्रिक्रेट रङ्गशाला बनाउन थालिएको बताउनुभयो । उहाँले हाल तयार भएको उक्त मैदानमा आठ हजार दर्शक अट्ने र यही वर्ष क्लबले कोशी प्रिमियर लिग आयोजना गर्न लागेको जानकारी दिनुभयो । रङ्गशाला निर्माणपछि झापाका क्रिक्रेटप्रेमीहरू उत्साहित भएका उहाँको भनाइ छ ।
मेची बहुमुखी क्याम्पसको १६ बिघा क्षेत्रफलमध्ये चार बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण भएको हो । वार्षिक रु ५० हजार भाडाबापत तिर्ने शर्तमा २५ वर्षका लागि उक्त जग्गा क्याम्पससँग क्लबले लिएको उहाँले जानकारी दिनुभयो ।