मेयर बालेन जनकपुर फिस हाउसमा, भन्छन्– तावा फिस खाँदा जनकपुरको याद आयो


काठमाडौँ,- काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थाली परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिनुभएको छ ।
प्रमुख शाहले मास्टरसेफ सन्तोष शाह र उहाँका दाजु दिलीप शाहद्वारा सञ्चालित जनकपुर फिस हाउसमा आज साँझ माछाका परिकारको स्वाद लिनुभएको हो ।
“यहाँ तयार पारिएका परिकारले तराईमा माछा खाएको स्मरण गरायो । काठमाडौँमा पनि जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लागेको छ”, प्रमुख शाहले भन्नुभयो । उहाँ पत्नी सबिना काफ्लेसँग मिथिला थाली पुग्नुभएको थियो ।
मास्टर सेफ शाह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुनुहुन्छ । उहाँले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट तथा गैरीधारामा जनकपुर फिस हाउस सञ्चालन गर्नुभएको छ । साथै उहाँले जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहनुभएको छ ।
पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरू गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले शाहद्वयले जनकपुर फिस हाउस सञ्चालनमा ल्याउनुभएको हो ।