१७ औँ संस्करणको ‘नाडा आटो सो २०२५’ भदौ ३ देखि हुँदै


काठमाडौं । १७ औँ संस्करणको ‘नाडा अटो सो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो सो २०२५’ काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको हो ।
२०२५ को अटो शो उद्घाटन उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने जनाइएको छ । यस वर्षको अटो सो हालसम्मकै भव्य हुने नाडाका अध्यक्ष करण चौधरीले बताए । यस वर्षको आटो सो प्रदर्शनीमात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्व हुने उनको भनाई छ ।
प्रदर्शनीले आधुनिक प्रविधि, स्मार्ट मोबिलिटी समाधान र अटो उद्योगको सम्पूर्ण पक्षलाई एकै स्थानमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
१७ औं संस्करणको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स स्वचालन र कृत्रिम बुद्धिमत्तामा आधारित उन्नत चारपांग्रे रोबोट र डिपल ईभीटोल यूएभी रहनेछ ।
‘गो फर मोर’ नारासहित आयोजना हुने १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, चारवटा दुईपांग्रे सवारी ब्रान्ड, ३५ वटा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवाप्रदायक कम्पनी सहभागी हुनेछन् । नाडाका अनुसार कुल १२५ भन्दा बढी प्रदर्शक रहनेछन् ।
करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको भृकुटिमण्डपको प्रदर्शनीस्थलको एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र रहने जनाइएको छ ।
प्रदर्शनीमा भिन्टेज मोटर शो विशेष आकर्षणका रूपमा रहनेछ । जसमा मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, भीडब्ल्यू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायतका ऐतिहासिक सवारीसाधन प्रदर्शन गरिनेछ ।
यसका साथै ‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्माण भएका सवारी तथा अटो पाट्र्स देखाइनेछ । अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवद्र्धन गरिने छ ।
ईभी, स्मार्ट मोबिलिटी र दिगोपनका विषयमा सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम हुनेछन् । दैनिकरूपमा १२ भाग्यशाली विजेताको घोषणा हुनेछ, जसले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा पाउनेछन् ।
प्रदर्शनीमा आगन्तुकका लागि सहज सुविधा र सुरक्षा सुनिश्चित पार्किङ सुविधा हुनेछ । चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन, अग्रिम टिकट बुकिङ सुविधा, सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपत्कालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र आगो नियन्त्रणको पूर्ण व्यवस्था हुनेछ ।
प्रदर्शनीलाई एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको छ ।