मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सङ्कटग्रस्त क्षेत्र मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग गरेका छन् । बैठकको आकस्मिक समयमा उनीहरूले सरकारले मधेसलाई सुक्खा भएका कारण सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि डिपबोरिङ र स्यालो ट्युबेल नपुग्दा समस्या भएकाले समाधान गर्न माग गरेकी हुन् ।
सांसद रामकृष्ण यादवले खडेरी परेको मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेलको पर्याप्त व्यवस्था गर्न माग गरे । केही दिनदेखि अलिअलि पानी परेर राहत भएपनि अझै आवश्यक मात्रामा पानी नपरेको उनको भनाइ छ ।
सांसद महेशकुमार बर्तौलाले गरिबीको परिचय पत्र २५ जिल्लामा वितरण गरिए पनि रोग लागेर उपचारका लागि पाउनुपर्ने सहयोग नपाएका बताए । मृगौला, क्यान्सर, मेरुदण्डका पक्षघात भएका रोगीलाई सहयोग उपलब्ध गराउन पनि उनले माग गरे । धनी मानिस पनि रोगले उपचार गर्दागर्दै गरिब हुने अवस्था भएकाले तोकिएको चार वटा रोग लागेकालाई कार्यविधि संशोधन गरेर सहयोग उपलब्ध गराउने व्यवस्था गर्न सांसद बर्तौलाले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद अमनलाल मोदीले ‘कुलिङ अफ पिरियड’, मन्त्रीहरूको लेनदेनको विषय, भिजिट भिसा प्रकरण, किसानले मल नपाएकालगायत समयसामयिक विषयमा सरकारले ठोस् कदम चाल्नुपर्नेमा जोड दिए । सांसद रमा कोइराला पौडेलले विदेशमा दुःख पाएका नेपालीलाई स्वदेश फिर्ता गराउन पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले २० वर्षदेखि काम गरेका कर्मचारीलाई सरकारले रित्तो हात फर्काउनु राम्रो नभएको धारणा राखिन् ।