`

क्यानडाको आर्थिक सूचकांकमा सुधार, मूल्य स्थिर

Nepal One HD ४ भदौ २०८२ ९:३०
विश्व

क्यानडाको वार्षिक मुद्रास्फीति दर जुलाई महिनामा घटेर १.७ प्रतिशतमा पुगेको छ । यो गिरावट मुख्यतः पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका कारण भएको बताइएको छ ।

स्ट्याटिस्टिक्स क्यानडाका अनुसार,“इरान र इजरायलबीचको युद्धविरामपछि कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण पेट्रोलको मूल्य ०.७ प्रतिशतले घटेको छ । यस घटनाले मध्यपूर्वमा सम्भावित युद्धको जोखिम कम भएको संकेत दिएको छ ।”

जुन महिनामा मुद्रास्फीति दर १.९ प्रतिशत थियो । त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण केही वस्तु, विशेषतः सवारी साधनहरूको मूल्यमा वृद्धि देखिएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुआतसँगै क्यानडामाथि भन्सार शुल्क लगाउन थालेपछि केही विश्लेषकहरूले मुद्रास्फीति दर उच्च हुने सम्भावनाको बारेमा चिन्ता व्यक्त गर्नुभएका थिए । उहाँहरूले केन्द्रीय बैंक ब्याजदर पुनः बढाउन बाध्य हुन सक्ने चेतावनीसमेत दिनुभएका थिए ।

तर जुलाई महिनाको तथ्यांकल ती भन्सार शुल्कहरूको प्रभाव धेरै वस्तुहरूमा अपेक्षाकृत न्यून देखाएको छ ।

डेजार्डिन्स संस्थाका विश्लेषक रोयस मेंडेसका अनुसार, “पछिल्ला मुद्रास्फीति दरले हाम्रो अनुमानलाई पुष्टि गर्छ, जसअनुसार धेरै भन्सार–सम्बन्धित मूल्य वृद्धिहरू मार्च र अप्रिल महिनामै भइसकेका थिए ।”

उहाँले थप स्पष्ट पार्नुभयो, “हालका मूल्य प्रवृत्तिहरूले देखाउँछन् कि ती वस्तुहरूको मूल्य वृद्धिदर अहिले सामान्य अवस्थामा फर्कँदै गएको छ ।”

मुद्रास्फीति दर सुरक्षित दायरामा रहेकोले, क्यानडाको केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनामा ब्याजदरमा पुनः कटौती गर्ने सम्भावना रहेको मेंडेसको भनाइ छ । बैंकले पछिल्ला तीन बैठकमा ब्याजदर अपरिवर्तित राख्दै आएको थियो ।

प्रधानमन्त्री मार्क कार्नीले यसअघि अगस्त महिनाको सुरुआतमा जानकारी गराउँदै क्यानडा–अमेरिका बीचको करिब ८५ प्रतिशत व्यापार अहिले पनि दुई देशबीच शुल्करहित रूपमा सञ्चालन भइरहेको भन्नुभएको थियो । ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत रहेका वस्तुहरूमा कर छुट कायम राखेको छ ।

यद्यपि, यदि सो सम्झौतालाई अमेरिकी प्रशासनले पूर्ण रूपमा खारेज ग¥यो वा आगामी वर्ष पुनरावलोकनका क्रममा ठूला संशोधनहरू गरियो भने, क्यानडाको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने विश्लेषकहरूको धारणा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *