नेपाल आउने विदेशी श्रमिकको संख्या बर्सेनि घट्दै


काठमाडौं । रोजगारीको खोजीमा नेपालमा आउने विदेशी श्रमिकको संख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या आर्थिक वर्षको २०८०/८१ को तुलनामा आवमा २०८१/८२ मा पाँच प्रतिशतले घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
अघिल्लो आवमा नवीकरण र नयाँ गरेर दुई हजार ६८५ विदेशी नागरिकले नेपालमा काम गर्न अनुमति लिएका थिए । तर, गत आवमा दुई यो संख्या घटेर दुई हजार ५५९ मा झरेको विभागले जनाएको छ ।
नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति दिइने गरेको छ । नेपालमा रोजगारीका लागि लगभग ७४ देशका नागरिकले श्रम स्वीकृति लिएका छन् । यीमध्ये सबैभन्दा बढी चिनियाँ छन् ।
विभागका अनुसार विगत तीन वर्षदेखि नै यो क्रम निरन्तर घटिरहेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको सङ्ख्या क्रमशः घट्दो दरमा रहेको देखिन्छ ।