`

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँः परराष्ट्रमन्त्री राणा

Nepal One HD ६ भदौ २०८२ १७:५३
प्रमुख खबर

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरण संरक्षणमा जोड दिएकी छिन् ।

उनले युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा आज बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरिन् । सो कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण नेपाल समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताएकी छिन् ।

उनले भनिन्, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने छ ।”

नेपालले केही महिनाअघि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्थाका बारेमा आफ्ना धारणासहितको २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उनले दिईन् ।

मन्त्री राणाले नेपालका तर्फबाट आफूले पहिलोपटक अन्तरराष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको स्मरण गरिन् । अब ‘कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्ड’सहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि पहल गर्ने जानकारी गराएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *