`

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसंग कार्यसम्पादन सम्झौता

Nepal One HD ११ भदौ २०८२ १५:३७
प्रमुख खबर

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसंग आर्थिक २०८२ र ८३को कार्यसम्पादन सम्झौता गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र मन्त्रालय अन्तर्गतका तीन सचिवबीच सहित सचिव र महानिर्देशबीचमा आज मन्त्रालयमा सो सम्झौता भएको हो । ऊर्जा मन्त्रालयमा आज भएको कार्यक्रममा मन्त्री खड्कासंग ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडी र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्रबीच सम्झौता भएको हो ।

यसैगरी जलस्रोत तथा सिँचाइ सचिव दवाडी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालका बीचमा मन्त्री खड्काको उपस्थितिमा कार्यसम्पादन सम्झौता भएको छ । कार्यक्रममा ऊर्जामन्त्री खड्काले गतवर्ष गरेको कामको अनुभवका आधारमा कार्यसम्पादनमा उल्लेख भएभन्दा धेरै काम गर्न सकिने बताए ।

उनले भने,“कुन आयोजनाको अवस्था के छ, आयोजना निर्माणमा के समस्या छन्, त्यसमा अलि चासो र समन्वय आवश्यक छ, रिपोटिङका लागि अनलाइन सिस्टम जडान गरौँ, प्रत्येक हप्ताको रिपोर्ट लिउँ ।” यसअघि गत साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री खड्काबीच कार्यसम्पादन सम्झौता भएको थियो ।

जलस्रोत तथा सिँचाइ सचिव दवाडीले आज भएको कार्यसम्पादन सम्झौता अनुसार कामको मूल्याङ्कन हुने भएकाले नतिजा देखिनेगरी काम गर्नुपर्ने बताए । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर बरालले शतप्रतिशत प्रगति हाँसिल हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मिश्रले कार्यसम्पादन सम्झौतालाई कार्यान्वयनमा लैजानुपर्ने बताए । उले संस्थाले लिएको उद्देश्यलाई परिपूर्ति गर्न सबै लाग्नुपर्ने उल्लेख गरे । कार्यक्रममा ऊर्जासचिव आचार्य र जलस्रोत तथा सिँचाइ सचिव दवाडीले मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख तथा मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *