`

उत्तरी नाका बन्द हुँदा दशैँमा महँगी बढ्ने चिन्ता

Nepal One HD १२ भदौ २०८२ ९:४५
अर्थ समाचार

काठमाडौं । चीनसँग जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोक तातोपानी नाका बन्द हुँदा चाडपर्वलक्षित सामान अड्किएको छ । लत्ताकपडालगायत दशैँतिहारमा खपत हुने सामान डेढ महिनादेखि नेपाल-चीन नाकामा अड्किएका हुन् । गत २४ असारमा आएको बाढीले नेपाल र चीन जोड्ने उत्तरी नाका रसुवाको मितेरी पुल बगाएको थियो ।

पुल बगाएसँगै डेढ महिनादेखि रसुवा नाका ठप्प भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्माणको काम भइरहे पनि दशैँअगाडि नाका खुल्ने सम्भावना कम छ ।

यस्तै, बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि बन्द छ । तातोपानी नाका भदौमा एक हप्ता खुला भए पनि फेरि बन्द भएको हो । नाका बन्द हुँदा सामान बाटोमै रोकिएका छन् ।

पानी परिरहेको र बाढीपहिरोको जोखिम अझै रहेकाले कहिलेसम्म नाका सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

दशैँलक्षित सामान नाकामा रोकिँदा व्यवसायीलाई ठुलो क्षति त भएको छ नै उपभोकतालेसमेत महँगीको मारमा पर्ने देखिएको हो । लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ र अन्य आवश्यक सामग्रीको आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा तातोपानी नाकाबाट ५० अर्बभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्बभन्दा बढीको सामान आयात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *