तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक छ: मुख्यमन्त्री कँडेल


कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको बताएका छन् ।
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो नै सहज हुने बताए। उनले तीनै तहबीचको सुदृढ सम्बन्धले मात्रै सङ्घीयताको मर्मअनुसारको लक्ष्य पूरा हुने उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कँडेलले भने, “सङ्घ र प्रदेशले गर्ने विकास कार्यको कार्यान्वयन क्षेत्र स्थानीय तह हो । यसलाई जिम्मेवार र सक्षम बनाउनुपर्छ । यसो हुन सके मात्र जनतालाई सङ्घीयताको अनुभूति हुन्छ ।”
मुुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सुरु गरेको योजना बैङ्कलाई स्थानीय तहले अनुसरण गर्न अनुरोध गरेका छन् । विगतको अनुभवबाट सिकेर तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै प्रदेश सरकारसँग भएको सीमित स्रोत र साधनलाई सही सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासनतर्फ सङ्केत गर्दै केवल समस्या देखाउने मात्र नभई समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेतर्फ जोड दिएका छन्। उनले भने, “समस्या देखाउन सजिलो हुन्छ तर त्यसको समाधानका लागि व्यावहारिक उपाय सुझाउनु अझ महत्त्वपूर्ण हुन्छ । विधि, थिति र कानुनको पालना गर्न सबैको कर्तव्य हो ।” सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने उनले बताएका छन् ।