लोकसेवा आयोग निष्पक्षता र स्वच्छतामा प्रतिबद्ध छः अध्यक्ष रेग्मी


सुदूरपश्चिम, २० भदौः लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोग सबैको विश्वासप्राप्त संस्था भएको बताउनुभएको छ ।
आयोगकोे हीरक जयन्ती वर्ष, २०८२ का अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रमअन्तर्गत आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले आयोग निष्पक्षता, स्वच्छता र योग्यतामा प्रतिबद्ध रहेको बताउनुभयो ।
वर्षभरिमा आयोगले निजामतीतर्फ करिब चार हजार र सङ्गठित संस्थातर्फ करिब १५ हजार योग्य नागरिकको छनोट गरी सिफारिस गर्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी गुणस्तर र प्रतिबद्ध प्रतिस्पर्धी खोजिरहेका छौँ ।”
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले आयोगको निष्पक्ष एवं स्वच्छ कामको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा आयोगको समग्र विषय समेटिएको वृत्तचित्रका साथै कार्यपत्र प्रस्तुत गरिएको थियो । आयोगले विद्यार्थीमार्फत आयोगको सन्देश फैलाइ सार्वजनिक सेवाप्रतिको आकर्षण बढाउन ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका विद्यार्थी सहभागी थिए ।