`

दुर्गा पूजाअघि भारतलाई १२०० टन हिल्सा निर्यात गर्ने बङ्गलादेशको निर्णय

Nepal One HD २४ भदौ २०८२ १५:१८
विश्व

बङ्गलादेशले दुर्गा पूजाअघि भारतमा एक हजार दुई सय टन हिल्सा (स्थानीय रूपमा ‘इलिस’ भनिने)माछा निर्यात गर्न अनुमति दिने निर्णय गरेको छ ।

“सरकारले चालु वर्ष २०२५ मा दुर्गा पूजाको अवसरमा भारतलाई सशर्त एक हजार दुई सय मेट्रिक टन हिल्सा निर्यात गर्ने नीतिगत निर्णय गरेको छ”, बङ्गलादेशको वाणिज्य मन्त्रालयले सोमबार राति जारी गरेको अधिसूचनामा उल्लेख छ ।

अधिसूचनामा भनिएको छ, “इच्छुक निर्यातकहरूले सन् २०२५ सेप्टेम्बर ११ को साँझ ५ बजेभित्र कार्यालय समयमा हार्ड कपीमा आवेदन पेस गर्नुपर्नेछ ।”

यसका लागि निर्यात कम्पनीको अद्यावधिक व्यापार इजाजतपत्र, इआरसी, आयकर प्रमाणपत्र, भ्याट प्रमाणपत्र, बिक्री सम्झौता र मत्स्य विभागको इजाजतपत्रसहित आवश्यक कागजात संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारले हिल्सा प्रतिकिलोको न्यूनतम निर्यात मूल्य १२.५० अमेरिकी डलर तोकेको छ । अधिसूचनामा भनिएको छ, “यसअघि आवेदन पेस गरेका निर्यातकहरूले पनि नयाँ आवेदन दिनुपर्नेछ ।”

गत वर्ष सन् २०२४ सेप्टेम्बर २७ मा करिब ४५–५० टन तौल भएको बङ्गलादेशको ‘पद्मा हिल्सा’ को पहिलो खेप पश्चिम बङ्गाल पुगेको थियो । त्यसबेला दुर्गा पूजाअघि आएको उक्त आयातलाई अधिकारीहरूले स्वागत गरेका थिए ।

बङ्गलादेशको अन्तरिम सरकारले गत वर्ष भारतमा कुल दुई हजार चार सय २० टन हिल्सा निर्यात गरेको थियो ।

हाल हावडा होलसेल माछा बजारमा हिल्साको थोक मूल्य प्रतिकिलो एक हजार चार सयदेखि एक हजार छ सय रुपैयाँ ९स्थानीय मुद्रा० सम्म पुगेको छ ।

उत्कृष्ट स्वादका कारण चर्चित यो माछा पेट्रापोल–बेनापोल सीमा हुँदै हावडा बजारमा आइपुग्छ र त्यसपछि कोलकाता तथा आसपासका खुद्रा बजारमा वितरण गरिन्छ ।

सन् २०१२ जुलाईदेखि बङ्गलादेशले हिल्सा निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर सन् २०१९ देखि दुर्गा पूजाको समयमा भारतका लागि विशेष अनुमति प्रदान गर्दै निर्यात गर्ने परम्परा सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *