इजिप्टमा आइएइए प्रमुखसँग इरानी विदेशमन्त्रीको भेट


इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार इजिप्टमा संयुक्त राष्ट्र आणविक वाचडगका प्रमुख राफेल ग्रोसीसँग भेट्ने भएका छन् । तेहरानले दुई महिनाअघि एजेन्सीसँगको सहयोग स्थगित गरेपछि हुने यो पहिलो बैठक हो ।
इरानको आधिकारिक इरना समाचार एजेन्सीका अनुसार कायरो भ्रमणका क्रममा इरान र एजेन्सीबीचको अन्तरक्रियाका लागि नयाँ प्रोटोकलमा वार्ता सम्पन्न गर्न अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० का महानिर्देशकसँग बैठक हुनेछ ।”
इजिप्टको विदेश मन्त्रालयले पनि मङ्गलबार हुने उक्त बैठकको पुष्टि गर्दै इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टी, अराघची र ग्रोसीलाई एकैसाथ ल्याउने जनाएको छ ।
यो बैठक जुनमा इजरायलसँगको १२ दिने युद्धपछि इरानले सहयोग स्थगित गरेयता पहिलो हो । उक्त द्वन्द्वमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानी आणविक सुविधाहरूमा आक्रमण गरेका थिए ।
तेहरानले ती आक्रमणहरूको निन्दा गर्न असफल भएकोमा आइएइएको आलोचना गर्दै एजेन्सीसँगको भविष्यको सहयोग ‘नयाँ रूप’ लिने चेतावनी दिएको छ ।
गत महिना, आइएइए निरीक्षकहरूको टोली बुसेहर आणविक ऊर्जा संयन्त्रमा इन्धन प्रतिस्थापन निरीक्षणका लागि इरान पुगेका थिए तर केही समयपछि फर्किएका थिए । उनीहरूलाई फोर्डो र नातान्जलगायत द्वन्द्वबाट प्रभावित प्रमुख साइटहरूमा पहुँच दिइएको थिएन ।
सन् २०१५ को आणविक सम्झौतामा पुनः फर्किन इरानलाई अहिले बढ्दो दबाब छ । बेलायत, फ्रान्स र जर्मनीले सम्झौताको विवाद समाधान संयन्त्रअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्न कदम चालेका छन् ।
यी तीन युरोपेली मुलुकले इरानले आफ्ना आणविक प्रतिबद्धताहरू पालना नगरेको भन्दै तथाकथित ‘स्न्यापब्याक’ संयन्त्र प्रयोग गर्ने चेतावनी दिएका छन् । इरानले भने यसलाई ‘अवैध’ ठहर गर्दै कडा आपत्ति जनाएको छ र यसले आइएइएसँगको सहयोगलाई अझ कमजोर पार्ने चेतावनी दिएको छ ।
पश्चिमी शक्तिहरू र इजरायलले लामो समयदेखि इरानलाई आणविक हतियार विकास गर्ने आरोप लगाउँदै आएका छन् । तर तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै ती आरोपहरू दृढतापूर्वक अस्वीकार गर्दै आएको छ ।