छलफलबाट बाहिरियो जेनजीको एउटा समूह


काठमाडौं । जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिरिएकी छन् । उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिर निस्किएको जनाएकी छन् ।
नेपाली सेनाले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग पनि सुझाव लिन भनेपछि बाहिरिएको जेनजी अभियन्ता रक्षा बमले बताएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईं र रास्वपा समूह पनि वार्तामा सामेल भएपछि आफूले वार्तास्थल छाडेर निस्किएको उनले बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् । उहाँहरु पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनिसकेपछि, जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरियौं ।’
अहिले प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेको पनि उनले जानकारी दिएकी छन् । उनले अर्को स्टाटसमा पनि आफूहरु नेपाली सेना प्रमुखलाई भेट्नलाई नगएको समेत उल्लेख गरेकी छन् । हिजो पनि वार्तामा बस्नलाई जाँदा आफूहरुको माग तयार गर्नलाई समय लाग्ने बताएको उनले बताएकी छन् । ‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनिन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरूपमा अनभिज्ञ छु ।’
‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौ, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेना प्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौ’, उनले लखेकी छन् । अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग हामी नेपाल नामक टिम र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच वार्ता भइरहेको छ ।