`

भिडन्तमा शीर्ष कमान्डरसहित तीन ‘नक्सलवादी’ विद्रोहीको मृत्यु

Nepal One HD ३० भदौ २०८२ १४:५५
विश्व

भारत । भारतीय सुरक्षा बलले सोमबार एकजना शीर्ष कमान्डरसहित तीन जना ‘नक्सलवादी’ विद्रोहीलाई गोली हानेर मारेको छ । यो कारबाही सरकारको दशकौँदेखि चल्दै आएको विद्रोहलाई अन्त्य गर्ने प्रयासको हिस्सा हो ।

माओवादी विचारधाराबाट प्रेरित ‘नक्सलवादी विद्रोह’ सन् १९६७ मा हिमालयको फेदीमा रहेको नक्सालबारी गाउँबाट सुरु भएको थियो । त्यसयता विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी १२ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

ताजा भिडन्त झारखण्ड राज्यमा सोमबार बिहान भएको हो । भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का अनुसार, यो अपरेशनलाई ‘महत्वपूर्ण सफलता’ का रूपमा हेरिएको छ ।

भीडन्तमा तीन जना ‘शीर्ष नक्सल कमान्डर’ मारिएको सीआरपीएफले जनाएको छ । मारिएका मध्ये एक सहदेव सोरेन थिए, जो नक्सलवादी सङ्गठनको केन्द्रीय समितिका सदस्य थिए । उनको पक्राउका लागि करिब एक लाख १३ हजार अमेरिकी डलर (भारतीय ९४ लाख) बराबरको इनाम तोकिएको थियो ।

केही दिनअघि मात्र ओडिशा र छत्तीसगढको जङ्गली सीमामा भएको अर्को भिडन्तमा सुरक्षाफौजले एक अर्का नक्सलवादी कमान्डरसहित नौ विद्रोहीलाई मारेको थियो ।
भारत सरकारले आगामी मार्च महिनासम्म विद्रोहलाई पूर्णरूपमा समाप्त गर्ने प्रतिबद्धता जनाएको छ ।

सन् २००० को दशकको मध्यतिर यो विद्रोहले देशको करिब एक तिहाइ भूभागमा नियन्त्रण कायम राखेको थियो र त्यसबेला १५–२० हजार जना लडाकु भएको अनुमान गरिएको थियो ।

‘रेड करिडोर’ नाम दिइएको क्षेत्रमा हाल भइरहेको व्यापक कारबाहीमा सरकारले गत वर्षदेखि अहिलेसम्म ४०० भन्दा बढी विद्रोहीलाई मारिएको जनाएको छ ।
यसै वर्ष मे महिनामा नक्सलवादी प्रमुख नाम्बाला केशव राव(उर्फ बसवराजु) २६ अन्य लडाकुसहित मारिएका थिए ।

यस सङ्घर्षमा सुरक्षाकर्मीहरू पनि धेरै चोटि निशाना बनेका छन् । गत जनवरीमा भएको सडकछेउ बम विस्फोटमा कम्तीमा ९ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *