आज प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच कुराकानी हुने


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ । आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले विकास, पुनः निर्माणमा सघाउने उल्लेख गर्दै भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको बताए । यसअघि मोदीले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालको समृद्धिको कामना गरेका थिए भने मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए ।