`

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक रातभर नखुल्ने

Nepal One HD ३ असोज २०८२ २१:११
समाचार

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा दुई तर्फी आवागमन अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो ।

दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । शुक्रबार साँझ सवा ७ बजेतिर तुइनखोलामा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

रातिमा काम थाल्दा माथिबाट खसेको ढुङ्गा सहितको पहिरो नदेखिने हुनाले बिहानपख मात्रै पहिरो पन्छाउने काम थाल्ने प्रहरीले बताए । पहिरो पन्छाउन आएका जेसीबीसहितका मेसिन राति छिप्पिन थालेसँगै फर्किएका छन् ।

उनका अनुसार शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने कार्य थालिनेछ ।

अहिले राजमार्गमा प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरिरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढतिरबाट मुग्लिनतिर आउन लागेका र काठमाडौं तथा पोखरातिरबाट नारायणगढतर्फ जान लागेका सवारी साधनलाई सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ ।

पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *