मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी


काठमाडौँ । मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बसेको हो । मन्त्रिपरिषद्का काम कारबाही, जेनजी आन्दोलनमा भएको दमन र आगजनीका घटनाबारे जाँचबुझ आयोग गठनलगायत छलफलका विषय छन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन् ।
बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दियो । हाल चार सदस्यीय मन्त्रिमण्डलमा अर्थमा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमा कुलमान घिसिङ र गृह तथा कानुनमा ओमप्रकाश अर्याल छन् ।
कार्की मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने तयारी छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप तीन जनाको नाम राष्ट्रपति कार्यालय पठाइएको बताइएको छ । मन्त्री नियुक्तिका लागि मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ । मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ ।