`

विद्युत प्राधिकरणमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

Nepal One HD ५ असोज २०८२ २०:०२
समाचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज (आइतबार) को बैठकले यस्तो निर्णय गरेको हो । सिलवाल प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन् । सिलवालको कार्यावधि ४ वर्षको रहने छ ।

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ । शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते शाक्यलाई नियुक्त गरेको थियो । विद्युत महसुल तिर्न बाँकी रहेका कम्पनीबाट बक्यौता पठाउनुपर्ने घिसिङको माग थियो भने तत्कालीन सरकारले आनाकानी गरिरहेको थियो ।

विवाद बढ्दै जाँदा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेका थिए । अन्तिममा सरकारले उनलाई हटाउने निर्णय गरेको थियो । तर, जेनजी आन्दोलनले ओली सरकार ढल्यो भने अन्तरिम सरकारमा घिसिङ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालन आइपुगेका हुन् । उनकै प्रस्तावमा शाक्यलाई हटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *