`

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता,१३५ जना अझै फरार

Nepal One HD ५ असोज २०८२ २१:४३
समाचार

कञ्चनपुर, ५ असोज: ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् ।कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा रहेका ४७८ कैदीबन्दीमध्ये ४५७ जना भागेका थिए । हालसम्म ३२२ जना फिर्ता आएका र १३५ जना अझै फरार रहेका छन् ।

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये नौ जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ । बाँकी १७ जना अझै फरार छन् । अभद्र व्यवहारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक भने कारागारमुक्त भएको प्रशासक जोशीले बताउनुभयो ।

यसैगरी पाँच जना कैदीबन्दीले कैद अवधि पूरा गरी कारागारमुक्त भएका छन् । कारागारबाट बाहिरिएका तीन जना कैदीबन्दी सम्पर्कमा रहेको र भोलि बिहानसम्म फिर्ता आउने आश्वासन दिएको प्रशासक जोशीले जानकारी दिनुभयो ।

कारागारमा रहेका २१ जना कैदीबन्दी भने आन्दोलनका बेला पनि नभागी त्यही रहेका थिए । भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरीले ‘सर्च एण्ड अरेष्ट अपरेसन’ सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *