`

नारायणगढ–मुग्लिन सडक आज दिउँसो बन्द हुने

Nepal One HD ६ असोज २०८२ ११:२४
प्रमुख खबर

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड आज (सोमबार) दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

तुइन खोला पुल छेउमा खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुनः सडक बन्द गरिएको थियो ।

आज बिहानसम्म पनि तुइन खोला पुल नजिकै मात्र सडक एकतर्फी सञ्चालनमा छ भने अन्य स्थानमा दुईतर्फी गाडी चलिरहेका छन् । दशैं मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी गरिएको हो । लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको चाप छ । लेन अनुशासन समेत पालना नहुँदा ठाउँठाउँमा जाम हुने गरेको छ । ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *