रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धामा खरो उत्रन सञ्चारमन्त्री खरेलको निर्देशन


काठमाडौँ, ७ असोज: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा प्रसारणअन्तर्गत रेडियो नेपालको सिंहदरबारस्थित कार्यालयको निरीक्षण गर्नुभएको छ ।त्यसअवसरमा उहाँले परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको रेडियो नेपाललाई बदलिँदो समयअनुसार अरु सञ्चारमाध्यमसँग प्रतिस्पर्धामा ल्याउने गरी कार्ययोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खरेलले भन्नुभयो, “रेडियो नेपाल नेपाली आमसञ्चार माध्यमको इतिहास हो, जनताको जीवनसँग जोडिएको यो संस्था हाम्रो ऐतिहासिक धरोहर हो, गर्विलो वर्तमान पनि हो । त्यसैले भविष्यमा पनि निजी क्षेत्रका सञ्चारमाध्यमसँग प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रममार्फत जनतालाई जोड्नुपर्छ ।”
उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग र सामाजिक सञ्जलसँग पनि जोडेर रेडियो नेपाललाई आधुनिक समाज सुहाउँदो बनाउन आग्रह गर्नुभयो । उहाँले रेडियोलाई आधुनिक विश्व र नयाँ पुस्तालाई सुहाउने नयाँ नेपालको साच्चिकै समावेशी आवाज बनाउने कुरामा आफ्नो सहयोग र समर्थन रहने विश्वास दिलाउनुभयो ।
मन्त्री खरेलले नेपालको प्रसारण पत्रकारितामा पुरानो इतिहास र विरासत बोकेको रेडियो नेपालको समाचार तथा कार्यक्रम सुनेर आमनागरिकले सूचना लिने गरेको इतिहास स्मरण गर्नुभयो । उहाँले रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज भएकाले त्यसलाई कार्यान्वयन गर्न समाचार तथा कार्यक्रमका विषय थप समावेशी बनाउन पनि आग्रह गर्नुभयो ।
त्यसअवसरमा मन्त्री खरेलले रेडियो नेपालको सङ्गीत स्टुडियो, प्रसारण स्टुडियो, समाचार कक्ष तथा नाट्य स्टुडियो र भदौ २४ गतेको प्रदर्शनबाट पुगेको क्षतिको समेत अवलोकन गर्नुभयो ।यसअघि नवनियुक्त मन्त्री खरेललाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टलगायत पदाधिकारीले रेडियो नेपालमा स्वागत गर्नुभएको थियो ।