`

भ्रष्टाचारबारे सरकारले प्रष्ट जानकारी पाइसक्यो, छानविन हुन्छ : प्रधानमन्त्री कार्की

Nepal One HD ९ असोज २०८२ १८:४८
राजनीति

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताएकी छन् । आज (बिहीबार) पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले यसअघि भए गरेका भ्रष्टाचारको विषयमा प्रस्ट जानकारी पाइसकेको बताएकी हुन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सम्बन्धमा यो छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ,’ उनले भनिन्, ’तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ ।’

‘नेतामा घरमा जलेका नोटबारे छानबिन सुरु भइसक्यो’
प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा ठूलो मात्रामा भेटिएका नोटबारे छानबिन सुरु भएको जानकारी दिएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालगायतको घरमा जलेका नोटहरू भेटिएका दृश्य सामाजिक सञ्जालमा देखिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती नोटहरू संकलन गरी अनुसन्धान सुरु गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *