सबै नेताको सम्पति छानबिन गरी सार्वजनिक गर्ने प्रचण्डको घोषणा


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनु पर्ने आवश्यकता औँल्याएका छन् । ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नु पर्छ,’ प्रचण्डले भने ।
संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिएका छन् ।
‘आगामी केन्द्रीय कमिटीमा जेनजीको अधिकतम प्रतिनिधित्व हुन्छ’
अध्यक्ष ‘प्रचण्ड’ ले आगामी केन्द्रीय कमिटीमा जेनजी उमेर समूहको अधिकतम प्रतिनिधित्व गराउने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शुक्रबारदेखि बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा युवाहरूलाई निर्णायक तहमा ल्याउनु पर्नेमा नेताहरूले जोड दिएका थिए । ‘जेनजीलाई आगामी केन्द्रीय समितिमा अधिकतम प्रतिनिधित्व गर्न अहिलेदेखि तयारी गरिनेछ’ प्रचण्डले भने, ‘सक्रिय र क्षमतावान जेनजीहरू केन्द्रीय कमिटीमा आउने छन् ।’