काठमाडौँ जाने सवारीसाधनलाई चितवन र आँबुखैरेनीमा रोकियो


काठमाडौं । नारायणगढ हुँदै काठामाडौँ जाने सवारीसाधनलाई चितवनमा रोकिएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’ अनुसार सवारीसाधन रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार धादिङको जवाङ खोलामा पहिरोका कारण सडक अवरुद्ध भएकाले काठमाडौँ जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको स्थानमा रोकिएको हो । उनले भने, ‘भरतपुर–मुग्लिन–पोखरा सडक सञ्चालनमा रहेको छ ।’ नारायणगढ मुग्लिन सडक खण्डमा अहिले सञ्चालनमा रहेको छ । केही स्थानमा ढुङ्गा खसे पनि तत्काल पन्छाउने गरिएको उनले जानकारी दिए।
उनका अनुसार काठमााडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारीसाधन रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिन्टार र मुग्लिनमा, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ ।
सवारीसाधन एकै ठाउँमा रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या हुने भएकाले विभिन्न स्थानमा ‘स्टपिङ प्लान’ बनाएर सवारी साधन रोकिएको हो । उनले भने, ‘धेरै स्थानमा सवारीसाधन रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या नआउने हुन्छ ।’ बाटो पूर्ण रुपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमा नै रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।
पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौँको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीमा करिब दुई-तीन सय सवारीसाधन रोकिएका छन् । वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे ।