`

अविरल वर्षात्ले सर्लाहीको जनजीवन प्रभावित

Nepal One HD २० असोज २०८२ ९:२१
समाज

बरहथवा (सर्लाही), २० असोजः अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको र उनीहरुलाई अन्यत्र सारिएका छन् । बाढीमा फसेका १९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

जिल्लाको लखन्देही, झिम, बाँके, सोती, मनुस्मारालगायतका खोलामा पानीको वहाव उच्च भएको छ भने बागमती नदीको बाढीलेसमेत जिल्लाको दक्षिणी क्षेत्र बलरा नगरपालिकाको चार गाउँ डुबानको जोखिममा पारेको छ । जिल्लामा सबै भन्दा धेरै लखन्देही खोलाले क्षति पु¥याएको प्रहरीले जनाएको छ । सो खोलामा आएको बाढीले चक्रघट्ट गाउँपालिका–१, पडरियामा २० कच्ची घरमा पूर्णरुपमा क्षति पुगेको छ भने कौडेना गाउँपालिका–३, मा १५० मिटर हुलाकी सडक क्षति पु¥याएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–७, मा रहेको कलभट आदवारा खोलामा आएको बाढीले बगाउँदा ब्रह्मपुरी–भक्तिपुर–चौलिखा सडक अवरुद्ध भएको छ ।

बाढी तथा डुबानका कारण जिल्लाको बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, मलङ्वा नगरपालिका, बलरा नगरपालिका, धन्कौल गाउँपालिका, बरहथवा नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, हरिवन नगरपालिका, गोडैता नगरपालिका र कबिलासी नगरपालिकामा स्थानीय प्रभावित भएका छन् । प्रहरी कार्यालयका अनुसार लखन्देही खोलाको बाढीले चक्रघट्ट गाउँपालिका–५, मा १८ घर स्थानीय विस्थापित भएका छन् । विस्थापित परिवारले नजिकै छिमेकीका बसेका छन् ।

यस्तै जिल्लाको बसवरिया गाउँपालिकास्थित बागमती खोलामा फसेका दुई जनालाई प्रहरीले उद्धार गरेको थियो । लखन्देही खोलाको पानीले मङ्गवा नगरपालिका–५, भाडसरका घरमा पानी पसेको थियो । यसैगरी मलङ्वा नगरपालिका–८, गोरखकालीमा रहेको भन्सार कार्यालय र प्रहरी चौकीमा पानी जमेको छ ।

यसैबीच बलरा –१, ३, ४ र ५ नम्बर वडामा गरी नौ सय घर डुबानमा परेको छ । वडा नं १ को छन्की टोलका ५० परिवार पानीमा घर डुबेपछि विस्थापित भएका हुन । सोही पालिकाको वडा नं ४ को सहनी टोला र मुस्लिम टोला डुबानमा परेको छ । घरहरू डुबानमा परे पनि स्थानीयलाई सुरक्षितसँग बागमती ड्याममा राखिएको छ ।

मनुस्मारा खोला र वर्षाको पानीले जिल्लाको धन्कौल गाउँपालिका–३, हरकठवा र वडा नं ४ महिनाथपुर जोखिममा परेको छ । खोलाको पानी जुनसुकै बेला गाउँ पस्नसक्ने जोखिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । उक्त खोलाको पानीले धन्कौलबाट रौतहटको धरमपुर जोड्ने बाटो अवरुद्ध भएको छ ।

यस्तै बरहथवा नगरपालिकामा सोती खोला र टिकुलिया खोलाको पानीले वडा नम्बर ७ र १६ का बस्तीमा जोखिम निम्त्याएको छ । यसैबीच जिल्लाको कौडेना गाउँपालिका–७, शिवनगर, वडा नं ३ कौडेना, वडा नं–५, पर्सा र छप्कैया, वडा नं–६, सक्रौलमा लखन्देही खोलाको बाढी पसेर ठूलो क्षति पु¥याएको छ । खोलेले बाँध कटान गर्दा शिवनगर गाउँमा पानी पसेको छ ।

उक्त स्थानबाट प्रहरीले १७ जना स्थानीयलाई उद्धारसमेत गरेको छ । वर्षाले घरको पर्खाल भत्किँदा कविलासी नगरपालिका–२, पिपरियामा अन्दाजी ९ वर्षकी शिवानी सिंहको खुट्टाको हड्डी भाँच्चिएको छ । कविलासी–८, अघर्वा र वडा नं–४, हेमपुरमा पनि पानीको निकास नहुँदा घरहरुमा पानी पसेको हो ।

गोडैता –८, प्रहरी चौकी गोडैता र चन्द्रनगर–५, स्थित प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै ब्रह्मपुरी –४ स्थित झिम खोलामा आएको बाढीलाई ड्याम निर्माण गरेर रोकथाम गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *