विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु


काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस्न लागेको हो ।
बैठकमा बाढी–पहिरोबाट आइपरेको विपत्तिका विषयमा छलफल हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जनाएका छन् । बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ ।
बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।
असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाकोृ ज्यान गएको थियो । सबैभन्दा धेरै क्षति इलाममा भएको छ । बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको छ ।
बैठकमा अर्थमन्त्री, ऊर्जामन्त्री, गृहमन्त्री, उद्योगमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ । साथै विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन् ।